काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौँ समूह तथा नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएका दुवै कार्यक्रमका लागि आवेदन खुला गरेको हो। इच्छुक आवेदकले असोज २६ गते अर्थात् १२ अक्टोबर २०२६ सम्म आवेदन दिन सक्नेछन्।

ADVERTISEMENT

१८ वर्ष उमेर पूरा भएका र नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। छनोट भएका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

बैंकले महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत समुदायका साथै दिगो उद्यम र रोजगारी सिर्जनामार्फत सामुदायिक विकासमा योगदान पुर्‍याउन चाहने उद्यमीलाई आवेदन दिन प्रोत्साहन गरेको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले प्रतिबद्ध उद्यमी पहिचान गरी उनीहरूको क्षमता विकास गर्नुका साथै दिगो उद्यम निर्माणका लागि आवश्यक ज्ञान, सञ्जाल र उद्यमशीलता इकोसिस्टमसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।

ADVERTISEMENT

१ हजार ५८० जनाले लिए तालिम

बैंकका अनुसार नबिल एसएसईको फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म १ हजार ५८० जना सहभागीलाई तालिम प्रदान गरिएको छ। तालिम प्राप्त सहभागीले ३१८ वटा उद्यम स्थापना गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १९ हजार ३०३ जनाका लागि रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना गरेको बैंकको दाबी छ।

फेलोसिप कार्यक्रमका हालसम्म सम्पन्न ६ समूहबाट ११३ जना प्रशिक्षित भएका छन्। उनीहरूमध्येबाट ९३ वटा फेलो–नेतृत्वका उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ।

त्यस्तै, सर्टिफिकेट कोर्समार्फत १ हजार ४६७ जना सहभागी लाभान्वित भएका छन् भने २२५ वटा उद्यम स्थापना भएको बैंकको भनाइ छ।

फेलोसिप ६ महिने, सर्टिफिकेट कोर्स तीन महिने

सन् २०२१ मा नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको पहलका रूपमा स्थापना भएको नबिल एसएसईले आकांक्षी तथा विद्यमान उद्यमीलाई व्यवसाय विकासका लागि आवश्यक ज्ञान, सीप, स्रोत, सञ्जाल तथा वित्तीय पहुँचका अवसर उपलब्ध गराउँदै आएको छ।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने नबिल एसएसई फेलोसिप ६ महिनाको उद्यम विकास कार्यक्रम हो। यसले सहभागीलाई उद्यम विकास, सुदृढीकरण तथा विस्तारका लागि आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गर्ने बैंकले जनाएको छ।

त्यस्तै, नबिल एसएसई सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो। विद्यार्थी, आकांक्षी उद्यमी, प्रारम्भिक चरणका संस्थापक तथा सञ्चालनमा रहेका सूक्ष्म र साना उद्यमीलाई लक्षित गरिएको यो कार्यक्रममा व्यवसायिक अवसर पहिचान, व्यावसायिक अवधारणा परीक्षण, व्यवसायिक मोडल निर्माण तथा उद्यम सुदृढीकरणसम्बन्धी ज्ञान प्रदान गरिनेछ।

१० शैक्षिक संस्थामार्फत सर्टिफिकेट कोर्स

यस वर्ष सर्टिफिकेट कोर्सका लागि देशभरका १० शैक्षिक कार्यान्वयन साझेदार संस्थामार्फत आवेदन खुला गरिएको छ।

कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेश प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इंग्लिश बोर्डिङ स्कुल, बागमती प्रदेशमा क्याम्पियन कलेज र बुढानीलकण्ठ स्कुलमार्फत कार्यक्रम सञ्चालन हुनेछ।

त्यस्तै, लुम्बिनी प्रदेशमा दिव्यज्योति बहुमुखी क्याम्पस, क्षितिज इन्टरनेशनल कलेज र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशमा सुर्खेत मोडल कलेज तथा सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिमाञ्चल एकेडेमीमार्फत कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रम र आवेदन प्रक्रियासम्बन्धी थप जानकारी नबिल बैंक, नबिल एसएसईका आधिकारिक सञ्चारमाध्यम तथा सम्बन्धित शैक्षिक साझेदार संस्थाबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

आवेदन तथा थप विवरणका लागि नबिल बैंकको आधिकारिक आवेदन पृष्ठ मा जान सकिनेछ।