काठमाडौं । नेपाल बैंकले चाडपर्वलाई लक्षित गर्दै सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि ४.९५ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने भएको छ। बैंकका अनुसार सार्वजनिक गरिएको योजना असोज मसान्तसम्म लागू हुनेछ।
ग्राहकले आफ्नो वित्तीय क्षमता र योजनाअनुसार २ वर्षदेखि ७ वर्षसम्मको अवधिमा कर्जा भुक्तानी गर्न सक्नेछन्। बैंकले यस कर्जामा कुल कर्जा रकमको ०.५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ।
अटो कर्जा लिन के–के कागजात चाहिन्छ?
नेपाल बैंकबाट अटो कर्जा लिन चाहने ग्राहक नेपाली नागरिक हुनुपर्नेछ। साथै, कर्जा प्रवाहका समयमा कम्तीमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने बैंकले जनाएको छ।
कर्जाको किस्ता र ब्याज नियमित रूपमा भुक्तानी गर्न सक्ने स्थिर तथा नियमित आम्दानीको स्रोत पुष्टि हुने कागजात पनि पेश गर्नुपर्नेछ।
व्यक्तिगत रूपमा अटो कर्जा लिन चाहने ग्राहकले निम्न कागजात पेश गर्नुपर्ने बैंकले जनाएको छ :
- नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानी
- पासपोर्ट साइजको फोटो
- सम्बन्धित स्थानीय तहबाट जारी पारिवारिक विवरण
यदि ग्राहकको आम्दानी व्यवसायबाट हुने हो भने फर्म दर्ता प्रमाणपत्र तथा प्यान/भ्याट प्रमाणपत्र समेत आवश्यक पर्नेछ।
बैंकले कर्जाको प्रकृति तथा आवश्यकताअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली, साझेदारी सम्झौतालगायत थप कागजातसमेत माग्न सक्ने जनाएको छ।
गाडी खरिदको कोटेसन अनिवार्य
अटो कर्जा लिन चाहने ग्राहकले आफूले खरिद गर्न लागेको सवारीसाधनको मूल्य, मोडल र फिचरसहितको आधिकारिक कोटेसन बैंकमा पेश गर्नुपर्नेछ।कोटेसनका आधारमा ग्राहकले कुन सवारीसाधन खरिद गर्न लागेको हो र त्यसका लागि कति रकम आवश्यक पर्छ भन्ने विवरण बैंकले मूल्यांकन गर्न सक्नेछ। यसले कर्जा प्रक्रियालाई समेत सहज बनाउने बैंकको भनाइ छ।
आम्दानी प्रमाणित गर्नुपर्ने
कर्जा लिन चाहने ग्राहकले आफ्नो आम्दानीको स्रोत प्रमाणित हुने कागजात पनि पेश गर्नुपर्नेछ।नोकरीबाट आम्दानी गर्ने ग्राहकले मासिक तलब प्राप्त भएको प्रमाण, पछिल्लो ६ महिनाको बैंक स्टेटमेन्ट, नियुक्तिपत्र तथा परीक्षणकाल पूरा गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ।त्यस्तै, घरभाडाबाट आम्दानी हुने ग्राहकले भाडा सम्झौता, भाडामा बस्ने व्यक्तिको परिचय, कर रसिद तथा सम्बन्धित सम्पत्तिको विवरण पेश गर्नुपर्नेछ।व्यवसायी वा फर्म सञ्चालकका हकमा लेखापरीक्षण गरिएको वित्तीय विवरण, अनुमानित वित्तीय विवरण तथा कर चुक्ता प्रमाणपत्र वा आम्दानीसम्बन्धी रसिद आवश्यक पर्ने बैंकले जनाएको छ।
२५ लाखभन्दा बढी कर्जामा प्यान अनिवार्य
नेपाल बैंकका अनुसार २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कर्जा लिन चाहने ग्राहकले प्यान नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।यसका साथै कर्जाको प्रकृति, ग्राहकको वित्तीय अवस्था तथा आवश्यकताका आधारमा बैंकले थप कागजात माग्न सक्नेछ।
अटो कर्जाका लागि पहिले नै तयारी गर्नुपर्ने मुख्य कुरा
नेपाल बैंकको ४.९५ प्रतिशत ब्याजदरको अटो कर्जा लिन चाहने ग्राहकले कर्जा प्रक्रियामा जानुअघि आफ्नो आम्दानीको स्रोत प्रमाणित हुने कागजात, आवश्यक व्यक्तिगत कागजात र आफूले खरिद गर्न लागेको सवारीसाधनको आधिकारिक कोटेसन तयार राख्नुपर्नेछ।
त्यसपछि बैंकले ग्राहकको आम्दानी, वित्तीय अवस्था, कर्जाको आवश्यकता र पेश गरिएका कागजातका आधारमा कर्जा प्रक्रिया अघि बढाउनेछ।
बैंकले कर्जाको प्रकृति तथा नियामकीय व्यवस्थाअनुसार थप विवरण वा कागजात माग गर्न सक्ने भएकाले कर्जा लिनुअघि सम्बन्धित शाखाबाट आवश्यक सर्त तथा कागजातबारे जानकारी लिन सकिने जनाएको छ।






