काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालले अर्थमन्त्रीद्वारा सार्वजनिक गरिएको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेको छ।एशोसिएसनका अध्यक्ष सागर ढकालले कार्ययोजना नेपालको पूँजी बजारमा आवश्यक संरचनात्मक सुधार अघि बढाउने, लगानीकर्ताको संरक्षण गर्ने तथा बजारको दीर्घकालीन विकासका लागि महत्वपूर्ण नीतिगत पहल भएको बताएका छन्।

उनका अनुसार कार्ययोजनाले पूँजी बजारको संरचनागत सुधारसँगै बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउने विषयलाई प्राथमिकता दिएको छ। विशेषगरी आईपीओमा ‘प्राइस डिस्कभरी’ प्रणाली लागू गर्ने, मार्जिन लेन्डिङ तथा सर्ट सेलिङ कार्यान्वयन गर्ने र कर्पोरेट बण्ड बजारको विकास गर्ने प्रस्तावलाई एशोसिएसनले सकारात्मक रूपमा लिएको छ।

ADVERTISEMENT

त्यस्तै, गैरआवासीय नेपाली अर्थात् एनआरएनलाई दोस्रो बजारमा लगानीको अवसर खुला गर्ने विषयले नेपालको पूँजी बजारमा नयाँ लगानीकर्ता र पुँजी भित्र्याउन सहयोग पुग्ने एशोसिएसनको भनाइ छ।

ADVERTISEMENT

आईपीओमा प्राइस डिस्कभरीदेखि सर्ट सेलिङसम्म

कार्ययोजनामा प्राथमिक बजारअन्तर्गत आईपीओ निष्कासनमा हालको मूल्य निर्धारण प्रक्रियालाई थप बजारमुखी बनाउने उद्देश्यले प्राइस डिस्कभरी प्रणाली लागू गर्ने विषय समेटिएको छ।

एशोसिएसनका अनुसार प्राइस डिस्कभरीले कम्पनीको वास्तविक मूल्य निर्धारणमा बजारको माग र आपूर्तिको भूमिकालाई बलियो बनाउन सक्छ। यसले आईपीओको मूल्य निर्धारण प्रक्रियालाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

यस्तै, दोस्रो बजारमा मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयन गर्ने विषयलाई पनि महत्वपूर्ण सुधारका रूपमा हेरिएको छ। यी उपकरण कार्यान्वयनमा आए बजारमा लगानीकर्ताका लागि कारोबारका थप विकल्प सिर्जना हुने तथा बजारको तरलता र कारोबार गतिविधि बढ्न सक्ने एशोसिएसनको विश्वास छ।

कार्ययोजनाले कर्पोरेट बण्ड बजारको विकासलाई समेत प्राथमिकतामा राखेको छ। नेपालको पूँजी बजारमा इक्विटीतर्फको निर्भरता बढी रहेको अवस्थामा बण्ड बजार विस्तारले कम्पनी तथा संस्थालाई वैकल्पिक वित्तीय स्रोत जुटाउन सहयोग पुग्ने र लगानीकर्ताका लागि समेत नयाँ लगानी उपकरण उपलब्ध हुने अपेक्षा गरिएको छ।

एनआरएन र संस्थागत लगानीकर्ता

कार्ययोजनामा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी गर्न दिने विषय पनि समेटिएको छ। एशोसिएसनका अध्यक्ष ढकालले यसलाई नेपालको पूँजी बजारमा थप पुँजी भित्र्याउन सक्ने महत्वपूर्ण व्यवस्थाका रूपमा लिएका छन्।

एनआरएनको लगानी बढेमा बजारमा पुँजीको स्रोत विस्तार हुनुका साथै अन्तर्राष्ट्रिय लगानीकर्ता र नेपालको पूँजी बजारबीचको सम्बन्धसमेत बलियो बन्न सक्ने उनको भनाइ छ।

त्यस्तै, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने विषयले बजारलाई थप स्थिर र व्यावसायिक बनाउन सहयोग गर्ने एशोसिएसनले जनाएको छ।

ठूला संस्थागत लगानीकर्ताको सक्रिय सहभागिता बढ्दा बजारमा दीर्घकालीन लगानीको हिस्सा बढ्ने र व्यक्तिगत लगानीकर्तामाथिको निर्भरता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेप्से, सीडीएससी र ब्रोकर कम्पनीको आधुनिकीकरण

कार्ययोजनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएससी तथा धितोपत्र दलाल व्यवसायको आधुनिकीकरण गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ। एशोसिएसनका अनुसार बजारको कारोबार प्रणाली, प्रविधि, सेवा प्रवाह तथा नियामकीय संरचनालाई समयअनुकूल बनाउन आवश्यक छ। आधुनिक प्रविधिको प्रयोग तथा संस्थागत क्षमता विस्तारले कारोबारलाई थप सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन सक्ने उसको भनाइ छ।

विशेषगरी पछिल्लो समय पूँजी बजारमा प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेका बेला नेप्से, सीडीएससी र ब्रोकर कम्पनीको प्रणालीलाई अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउनुपर्ने आवश्यकता रहेको एशोसिएसनले जनाएको छ।

दीर्घकालीन लगानीलाई करमा प्रोत्साहन

कार्ययोजनामा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले पूँजीगत लाभकरको व्यवस्था समेत गरिएको छ। एशोसिएसनका अनुसार ३६५ दिनभन्दा बढी अवधिसम्म धारण गरिएको धितोपत्रबाट प्राप्त पूँजीगत लाभमा ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिको लगानीमा ५ प्रतिशत पूँजीगत लाभकर कायम गर्ने व्यवस्था सकारात्मक छ।

अध्यक्ष ढकालले यसले छोटो अवधिको कारोबारभन्दा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने बताए। दीर्घकालीन लगानी बढ्दा बजारमा स्थायित्व कायम गर्न, लगानीकर्ताको विश्वास बढाउन र पूँजी बजारको दिगो विकासमा सहयोग पुग्ने उनको भनाइ छ।

उनका अनुसार दीर्घकालीन लगानीकर्तालाई करका माध्यमबाट प्रोत्साहन गर्दा बजारमा स्थिर पुँजीको हिस्सा बढ्न सक्छ। यसले कम्पनीलाई दीर्घकालीन रूपमा पुँजी परिचालन गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यान्वयनमा जोड

एशोसिएसनले कार्ययोजनामा समेटिएका सुधारका विषय घोषणा मात्र नभई समयबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ। अध्यक्ष ढकालका अनुसार सरकारले घोषणा गरेका सुधारहरू व्यवहारमा लागू भएमा पूँजी बजारप्रति लगानीकर्ताको विश्वास थप मजबुत बन्नेछ। साथै बजारमा तरलता बढ्ने, नयाँ लगानीकर्ता आकर्षित हुने र अर्थतन्त्रमा पूँजी बजारको योगदान थप प्रभावकारी बन्ने उनको विश्वास छ।

उनले पूँजी बजार सुधारप्रति प्रतिबद्धता देखाएकोमा अर्थमन्त्री, अर्थ मन्त्रालय तथा सम्बन्धित नियामक निकायप्रति आभार व्यक्त गरेका छन्। कार्ययोजनाको सफल कार्यान्वयनका लागि स्टक ब्रोकर एशोसिएसन सरकार तथा नियामक निकायसँग आवश्यक सहकार्य गर्न तयार रहेको अध्यक्ष ढकालले बताएका छन्।

नेपालको पूँजी बजारमा लामो समयदेखि उठ्दै आएका बजार संरचना, लगानीका नयाँ उपकरण, संस्थागत लगानीकर्ता, प्रविधि तथा दीर्घकालीन लगानीसँग सम्बन्धित विषयलाई कार्ययोजनाले समेटेकाले अब यसको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने देखिएको छ।