लमजुङ, भदौ २९ गते । बेसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङ सदरमुकाम बेसीसहरदेखि खरखरेसम्मको करिब तीन किलोमिटर क्षेत्रमा ठाउँठाउँमा सडक भासिएपछि सवारी आवागमन जोखिमपूर्ण बनेको छ। सडक चिरिने, फाट्ने तथा सडकको केही भाग भासिने क्रम बढेपछि चालक तथा यात्रुले तत्काल संरक्षण तथा मर्मत गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
बेसीसहर नगरपालिका–६, खरखरे आसपास गत वर्ष गरिएको सडक ढलानसमेत भासिएर चिरा परेको छ। सडक मुनि ठूलो भाग खोक्रो बनेको र माथिल्लो सतह चिरिएर फाटेका कारण जुनसुकै बेला सडक थप भासिन सक्ने भन्दै चालकहरूले जोखिम औँल्याएका छन्।
सवारी चालक भक्तबहादुर गुरुङका अनुसार सडकको अवस्था निकै जोखिमपूर्ण छ। उनले लामो समयदेखि सडकको समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि अपेक्षित मर्मत हुन नसकेको बताए।
बेसीसहरको पुमाखेलादेखि खरखरेसम्म पनि विभिन्न स्थानमा सडक भासिएको चालकहरूले बताएका छन्। पुमाखोला नजिक सडकको आधा भाग भासिएको छ भने चनौटे–मगरगाउँ आसपासका क्षेत्रमा पनि सडकमा क्षति पुगेको सवारी चालक पुष्प पाण्डेले बताए। खरखरे क्षेत्रमा पहिरोको जोखिमसमेत कायमै रहेको छ।
डुम्रे–बेसीसहर–चामे सडक योजनाका प्रमुख सतिस सुवेदीले भासिएका तथा क्षतिग्रस्त सडकको मर्मतका लागि प्राविधिक स्टिमेट तयार भइसकेको जानकारी दिए। उनका अनुसार सडकका निर्माण सम्पन्न भएका भाग सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण भइसकेकाले निरीक्षण तथा अनुगमनपछि ठेक्का प्रक्रियामा लगिएको छ। मर्मतको काम हिउँदमा हुने अपेक्षा गरिएको उनले बताए।
यसअघि पनि सडकको अवस्था सुधार गर्न लमजुङ र मनाङका प्रतिनिधिसभा सदस्यहरूले संयुक्त अनुगमन गरी तत्काल स्तरोन्नतिको पहल गर्न जोड दिएका थिए। लमजुङका प्रतिनिधिसभा सदस्य धर्मराज केसी र मनाङका प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले सडकको स्थलगत निरीक्षण गर्दै समस्या समाधानका लागि पहल गरेका थिए।
उत्तरी लमजुङ हुँदै मनाङ जोड्ने प्रमुख सडकका रूपमा रहेको बेसीसहर–चामे सडकमा वर्षायाममा पहिरो, खाल्डाखुल्डी, हिलो तथा सडक भासिने समस्याका कारण यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको छ। वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा थप क्षति पुगेपछि सवारी आवागमन जोखिमपूर्ण बनेको हो।
मनाङलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौलीले निर्माण सुरु गरेको यो सडकको जिम्मेवारी २०५७ सालदेखि नेपाली सेनाले पाएको थियो। नेपाली सेनाको तत्कालीन कार्यगणले २०६९ सालमा निर्माण सम्पन्न गरी सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो।
हाल डुम्रे–बेसीसहर सडक योजना कार्यालयमार्फत डुम्रे–बेसीसहर र बेसीसहर–चामे गरी दुई खण्डमा सडक स्तरोन्नतिको काम हुँदै आएको छ। तर, वर्षाका कारण ठाउँठाउँमा सडकमा क्षति पुग्दा यात्रु तथा सवारी चालकले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ।






