काठमाडौं । नेपाल आयल निगमले आत्तिएर अतिरिक्त एलपी ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ। आवश्यकता नपरी अतिरिक्त सिलिन्डर खरिद गर्दा अन्य उपभोक्तालाई ग्यासको अभाव हुन सक्ने भन्दै निगमले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको हो।

निगमले अघिल्लो वर्षका तीन महिना र चालु वर्षका तीन महिनामा भएको एलपी ग्यास बिक्रीको तुलनात्मक विवरणसमेत सार्वजनिक गरेको छ।

ADVERTISEMENT

विवरणअनुसार २०८२ आषाढमा ३३ लाख ७५ हजार ५९५ सिलिन्डर बिक्री भएकोमा २०८३ आषाढमा ३१ लाख ३६ हजार ९३७ सिलिन्डर बिक्री भएको छ।

ADVERTISEMENT

त्यस्तै, २०८२ श्रावणमा ३१ लाख २१ हजार ४८ सिलिन्डर बिक्री भएको थियो भने २०८३ श्रावणमा यो संख्या बढेर ४० लाख ३६ हजार ३६४ पुगेको निगमले जनाएको छ।

२०८२ भाद्रमा ३३ लाख ५५ हजार ९६० सिलिन्डर बिक्री भएको थियो। चालु वर्ष २०८३ भाद्र २७ गतेसम्म भने ३७ लाख १३ हजार ८९४ सिलिन्डर बिक्री भइसकेको निगमको तथ्यांक छ।

ADVERTISEMENT

दैनिक आपूर्ति अवस्थाबारे जानकारी दिइने

निगमले एलपी ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन निरन्तर काम गरिरहेको जनाएको छ। साथै, आपूर्ति र बजारको अवस्थाबारे अद्यावधिक जानकारी दैनिक रूपमा सार्वजनिक गर्दै जाने प्रतिबद्धता जनाएको छ।

निगमले उपभोक्तालाई धैर्य र संयम अपनाउन आग्रह गर्दै आपूर्ति व्यवस्थापनमा सहयोग र समझदारीका लागि धन्यवादसमेत दिएको छ।