काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी निष्पक्ष र गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत बेनमाथि कल बाइपासजस्तो गम्भीर आपराधिक गतिविधिमा संलग्नता तथा विदेशी जासुसी संयन्त्रसँग कथित अपारदर्शी सम्पर्क रहेको आरोप उठेकाले तत्काल छानबिन गर्न माग गरेका हुन्।

ADVERTISEMENT

गम्भीर आरोप लागेका व्यक्तिलाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकारजस्तो संवेदनशील जिम्मेवारीमा राख्नु कानुनी शासनको उपहास हुने मुभमेन्टको भनाइ छ। पद र पहुँचका आधारमा अनुसन्धानबाट उन्मुक्ति दिन नहुने भन्दै बेनलाई तत्काल जिम्मेवारीबाट अलग गर्नसमेत माग गरिएको छ।

ADVERTISEMENT

मुभमेन्टले बेनलाई राज्यमन्त्रीस्तरको सुविधा दिइएको तर उनको शैक्षिक योग्यता एसएलसीसम्म मात्र रहेको भन्दै नियुक्तिको योग्यतामाथिसमेत प्रश्न उठाएको छ।

त्यस्तै, सत्तारूढ दलकै सांसदले सरकारको वास्तविक शक्ति केन्द्र सिंहदरबार नभई ज्वागल बनेको अभिव्यक्ति दिएको विषयलाई पनि मुभमेन्टले गम्भीर रूपमा उठाएको छ।

ADVERTISEMENT

विदेशी जासुसी संयन्त्रसँग कथित सम्पर्कको आरोप राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग जोडिएको संवेदनशील विषय भएको भन्दै मुभमेन्टले निष्पक्ष अनुसन्धानबाट तथ्य सार्वजनिक गर्न माग गरेको छ।

आरोप प्रमाणित भए देशद्रोहलगायत प्रचलित कानुनअनुसार कठोर कारबाही गर्नुपर्ने पनि मुभमेन्टले जनाएको छ।