काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा एक महिलाले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेकी छन्।
माइतीघरमा जेन–जी शहीद दिवसका अवसरमा दीप प्रज्वलन कार्यक्रम चलिरहेका बेला महिलाले आगो लगाउने प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
प्रहरीका अनुसार ती महिला लक्ष्मी बस्नेत हुन्। आगो लगाउने प्रयास गरेपछि तत्कालै उनको शरीरमा लागेको आगो निभाएर उपचारका लागि वीर अस्पताल लगिएको छ। एसपी थापाका अनुसार उनको स्वास्थ्य अवस्थाबारे प्रहरीले थप जानकारी लिइरहेको छ।
माइतीघरमा मंगलबार जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा शहीद परिवार, घाइते, युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो।





