काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलका नेताहरूले जेनजी आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गर्दै अपमान गर्ने प्रयास गरेको आरोप लगाएका छन्।

जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले जेनजी आन्दोलन इतिहास बनिसकेको भन्दै त्यसलाई परिवर्तन गर्ने प्रयास नगर्न पुराना दलका नेताहरूलाई चेतावनी दिए।

ADVERTISEMENT

‘त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्,’ उनले भने, ‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईंले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ। सुध्रिनुस्, अझै पनि समय छ।’

ADVERTISEMENT

उनले पुरानो सोच र कार्यशैलीबाट नयाँ नेपाल निर्माण सम्भव नहुने दाबी गरे। आफूहरू सत्ता र शक्तिको लोभमा नभई जनताले दिएको जिम्मेवारी पूरा गर्न सरकारमा आएको उनको भनाइ थियो।

गृहमन्त्री गुरुङले आफूबाट कुनै कमजोरी नहोस् भनेर निरन्तर दबाबमा काम गरिरहेको बताए। सुशासनका पक्षमा आवाज उठाउँदा तत्कालीन सरकारले युवामाथि गोली चलाएको आरोप लगाउँदै उनले वर्तमान सरकारले जेनजीका माग सम्बोधन गर्ने गरी काम गरिरहेको दाबी गरे।

ADVERTISEMENT

उनले आफूलाई सुशासन स्थापित गर्ने जिम्मेवारी दिएको भन्दै रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहप्रति आभार व्यक्त गरे। साथै, आफूले सभापति लामिछानेसँग नियमित रूपमा सल्लाह लिइरहेको पनि बताए।