काठमाडौँ । रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा थुनिएका व्यक्तिहरूको उद्धार कार्य तीव्र पारिएको छ। उद्धार टोली सुरुङभित्रको पावरहाउस क्षेत्र नजिक पुगेकाले थुनिएका व्यक्तिहरू जीवितै भेटिने सम्भावना बढेको अधिकारीहरूले बताएका छन्।
आयोजना स्थलमा रहेका सुरुङ विज्ञ एवं सांसद श्रीराम न्यौपानेका अनुसार उद्धार टोली अहिले पावरहाउस क्षेत्रभन्दा करिब १०० मिटरको दूरीमा पुगेको छ। सुरुङको संरचना र डिजाइन अध्ययन गर्दा पावरहाउस करिब ६० मिटर लामो, २५ मिटर अग्लो र २० मिटर चौडा रहेको उनले बताए।
सुरुङभित्र लेदो मिसिएको पानीको सतहको अवस्थालाई हेर्दा पावरहाउसको माथिल्लो भागमा २ देखि ८ मिटरसम्म खुला तथा सुरक्षित स्थान रहेको अनुमान गरिएको छ। न्यौपानेका अनुसार पावरहाउसको माथिल्लो भागमा चामल, पानी, चिनी, चिया र ब्याट्रीलगायत अत्यावश्यक सामग्री रहेको जानकारी प्राप्त भएको छ।
‘यदि सबै व्यक्तिहरू उक्त स्थानसम्म पुग्न सफल भएका छन् भने उनीहरू सुरक्षित अवस्थामा रहेको हाम्रो विश्वास छ,’ उनले भने। हालसम्म उद्धार टोलीले सुरुङभित्र ९० मिटर दूरी पार गरिसकेको छ। बाँकी दूरी पार गरी भोलिसम्म एक्स्काभेटरलाई पावरहाउसको पहुँच मार्गसम्म पुर्याउने लक्ष्य राखिएको न्यौपानेले जानकारी दिए।
उद्धार कार्यको प्रगति सन्तोषजनक रहेको र प्राविधिक टोलीले सुरुङको ड्रइङ तथा डिजाइनको निरन्तर अध्ययन गरिरहेको बताइएको छ।न्यौपानेका अनुसार सुरुङभित्र थुनिएका व्यक्तिहरूका लागि अक्सिजन र हावाको गुणस्तर सबैभन्दा महत्वपूर्ण हुन्छ। पानी उपलब्ध भएको र शारीरिक गतिविधि कम गरेर ऊर्जा बचत गर्न सके खाना नखाई पनि मानिस लामो समयसम्म बाँच्न सक्ने उनको भनाइ छ।
उद्धार टोलीले पावरहाउससम्म पुग्न सके थुनिएका व्यक्तिहरूको वास्तविक अवस्था पत्ता लाग्ने र उद्धार प्रक्रिया थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।






