काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म दुवै कोषमा गरी ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको हो।
कार्यालयका अनुसार हाल नौ वटा वाणिज्य बैंकमा कोषको ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ रुपैयाँ मौज्दात रहेको छ। जम्मा भएको रकममध्ये यसअघि एक अर्ब रुपैयाँ रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकासा भइसकेको छ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा समेत २ करोड ११ लाख ८ हजार ४७१ रुपैयाँ जम्मा भएको कार्यालयले जनाएको छ।
सरकारले विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि राहत कोषमा जम्मा भएको रकम परिचालन गर्दै आएको छ। पछिल्लो विवरणले विपद् व्यवस्थापनका लागि सरकारको राहत कोषमा ठूलो रकम संकलन भएको देखाएको छ।






