काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ३२५ महिला, ५२३ पुरुष तथा ४९३ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका छ ।
सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष २ हजार ८६३, महिला ५७५ तथा विदेशी नागरिकतर्फ पुरुष २६९ र महिला ३३२ र अन्य ५ जना रहेका जनाइएको छ ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ ।
फेला परेकामध्ये १ हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।
बाढीपछि हालसम्म ९ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।
यसैगरी, मृतक १ हजार २८६ जना तथा मृतकका आफन्त १ हजार १८६ जना गरी २ हजार ४७२ जनाको ‘डिएनए’ नमूना सङ्कलन गरिएको छ ।
बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि ‘डिएनए’ नमूना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी बेपत्ता भएकाको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन् ।






