काठमाडौँ । बेत्रावतीबाट जीवितै उद्धार गरिएकी ६३ वर्षीया चण्डिका श्रेष्ठको नेपाली सेनाको अस्पताल छाउनीमा उपचार भइरहेको छ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार चण्डिकाको चिकित्सकीय टोलीको निगरानीमा उपचार भइरहेको छ। उनका अनुसार चण्डिकाको दाहिने तिघ्रामा गहिरो घाउ रहेको छ भने उनलाई सुगर, उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या पनि रहेको पाइएको छ।

ADVERTISEMENT

प्रवक्ता बस्नेतले चण्डिकामा हाइपरथर्मियाको लक्षण देखिएको जानकारी दिएका छन्। हाइपरथर्मिया भनेको शरीरको तापक्रम असामान्य रूपमा बढ्ने वा अत्यधिक उच्च हुने अवस्था हो।

ADVERTISEMENT

भदौ १० गते आएको विनाशकारी बाढीमा परेर चण्डिका बेपत्ता भएकी थिइन्। लामो समयसम्म उनको अवस्था अज्ञात रहेपछि शनिबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनलाई बेत्रावती क्षेत्रबाट जीवितै उद्धार गरेको थियो।

उद्धारपछि तत्काल उपचारका लागि उनलाई नेपाली सेनाको अस्पताल छाउनी ल्याइएको हो। हाल चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको सेनाले जनाएको छ।

ADVERTISEMENT