काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा मर्मत गर्न यही आज (भदौ २० गते शनिबार) १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गरी भदौ २० गते शनिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उक्त सडकखण्डमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

ADVERTISEMENT

यही भदौ १० भोटेकोशी सहित त्रिशुली नदीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सडकखण्डबाट एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएका थिए।  क्षतिग्रस्त सडकको आवश्यक मर्मत गर्न सवारी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ।

ADVERTISEMENT

बाढीका कारण धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्ण भिरमा पूर्ण रूपमा सडक अवरुद्ध भएको छ भने बेनिघाट १० जवाङखोला र थाक्रे २ को कमेरेभिरमा एकतर्फी सडक सञ्चालनमा रहेको छ।

एकतर्फि सडकमा मात्र सवारी सञ्चालन हुँदै आएको गजुरी –२ परेवाभिरमा शनिबार आवागमन पूर्ण रूपमा बन्द गरि सडक मर्मत गरिने भएको हो।

ADVERTISEMENT