काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पछिल्लो बाढीपहिरो तथा प्राकृतिक विपद्पछि उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र उच्च प्राथमिकताका साथ परिचालन गरिएको बताएका छन्।
मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले विपद्ग्रस्त क्षेत्रमा उद्धारका क्रममा देखिएका जटिलता, अन्तर्राष्ट्रिय सहयोग तथा राहत वितरणको अवस्थाबारे जानकारी गराएका हुन्।
उनका अनुसार विशेषगरी थ्री ए र टनेल क्षेत्रमा उद्धार कार्य अत्यन्तै कठिन भइरहेको छ। प्रतिकूल मौसम र भौगोलिक अवस्थाका कारण हवाई उद्धारमा समस्या देखिए पनि रातको समयमा समेत प्राविधिक तथा सुरक्षाकर्मीको टोली परिचालन गरिएको उनले बताए।
सुरुङभित्र फसेकाहरूलाई सहयोग पुर्याउन सुरुङको माथिल्लो भागबाट खनेर वा ड्रिल गरी अक्सिजन र खाद्यान्न पुर्याउन सकिन्छ कि भन्ने वैकल्पिक योजनामा सरकार काम गरिरहेको गृहमन्त्रीले जानकारी दिए।
“त्यहाँको जमिन दलदले माटोले भरिएको छ, जसका कारण उद्धारमा प्रयोग गरिएका एक्साभेटरसमेत डुब्ने अवस्था छ। हामीले उद्धारका लागि ढोका खुला राखेका छौँ,” उनले भने।
गृहमन्त्री गुरुङले भारतीय तथा चिनियाँ उद्धार टोलीलाई सरकारले रोकेको भन्ने चर्चाको खण्डन गर्दै छिमेकी मुलुकसँग सुरुदेखि नै समन्वय भइरहेको स्पष्ट पारे। उनका अनुसार भारतीय र चिनियाँ टोली तेस्रो दिनदेखि नै नेपाली सेनासँग समन्वय गर्दै सर्भे तथा उद्धार योजनामा प्राविधिक सहयोग गरिरहेका छन्।
अत्यन्तै साँघुरो र जोखिमपूर्ण हवाई क्षेत्र भएकाले दुर्घटना रोक्न तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन हवाई व्यवस्थापनमा मात्र एकद्वार प्रणाली लागू गरिएको उनले बताए।
यसैबीच, बाढीपहिरोको पूर्वसूचना प्रवाह गरी नागरिकको ज्यान जोगाउन खटिएका चार जना सुरक्षाकर्मी बेपत्ता भएको गृहमन्त्रीले जानकारी दिए।
उनले राति ९ः१५ बजेदेखि नै एसएमएस तथा माइकिङमार्फत पूर्वसूचना प्रवाह गरिएको दाबी गर्दै विपद्को समयमा सुरक्षाकर्मीहरूले आफ्नै ज्यान जोखिममा राखेर नागरिकको सुरक्षामा खटिएको बताए।






