काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै पार्टी सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दिएको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले महाधिवेशन रोक्न अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

ADVERTISEMENT

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले देउवा र खड्काको निवेदनमा अन्तरिम आदेश नभएको जानकारी दिए।

ADVERTISEMENT

‘पूरक निवेदनमा महाधिवेशन रोक्न आदेश हुनुपर्ने माग थियो। तीन सदस्यीय पूर्ण इजलासले त्यो मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ,’ उनले भने।

सर्वोच्चको आदेशसँगै नेपाली कांग्रेसको संस्थापन समूहलाई नियमित दलीय गतिविधि अघि बढाउन बाटो खुलेको छ। सर्वोच्चले पुनरवलोकनको निवेदनको रोहमा पछि जस्तोसुकै आदेश हुन सक्ने भए पनि तत्कालका लागि महाधिवेशन रोक्ने अन्तरिम आदेश नदिएको हो।

ADVERTISEMENT

देउवा–खड्का समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै आएको छ। उनीहरूले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै महाधिवेशन रोक्न माग गरेका थिए।

यता सभापति गगन थापा नेतृत्वको कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी तयारी तथा संगठनात्मक गतिविधि अघि बढाइसकेको छ।

सर्वोच्चले तत्काल महाधिवेशन रोक्न अन्तरिम आदेश नदिएपछि थापा नेतृत्वको कांग्रेसलाई निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन तयारी अघि बढाउन थप सहज भएको छ।