काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार मतदान हुँदैछ। बिहीबारका लागि तय गरिएको मतदान आवश्यक तयारी पूरा नभएको भन्दै आजका लागि सारिएको हो।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। आवश्यक तयारी पूरा भए पनि साँझ मतदान सुरु गर्दा रातिको समयमा मतदातालाई कठिनाइ हुने भएकाले बिहानबाट मतदान गर्ने निर्णय गरिएको उनले बताए।

ADVERTISEMENT

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले खराब मौसम, प्राविधिक समस्या र ढिला मतदान सुरु गर्दा मतदातालाई हुने असुविधालाई ध्यानमा राखेर बिहान ७ बजेदेखि मतदान गर्ने निर्णय गरिएको जानकारी दिए।

ADVERTISEMENT

एक प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने

महाधिवेशनमा एक प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधि छन्। एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान गरिएको छ।

ADVERTISEMENT

आज बिहान ७ बजे मतदान सुरु भए दिउँसो ३ बजेसम्म सम्पन्न हुने निर्वाचन समितिको अनुमान छ।

राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान

निर्वाचनका लागि काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान केन्द्र स्थापना गरिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्।

खुलामञ्चस्थित तराई–मधेश हलमा कोशी र मधेश प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् भने हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ। पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित प्रतिनिधिले मतदान गर्नेछन्।

मतदानअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाइने निर्वाचन समितिले जनाएको छ।

मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लगिनेछ। त्यहाँ मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।