काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचकमा उच्च गिरावट आएको छ । रसुवामा आएको आकस्मिक बाढीको प्रभाव बुधबारको सेयर बजारमा देखिएको छ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३५.९२ अंक घटेर २५५८.३५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ।

ADVERTISEMENT

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार चार अर्ब १० करोड ९७ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३४८ स्टकको ६१ हजार ४४२ पटकको कारोबारमा चार अर्ब ७७ करोड ३८ लाख ५७ हजार रुपैयाँबराबरको एक करोड ३५ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

बुधबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक ३.९० प्रतिशत घटेको छ। जलविद्युत उपसमूहको परिसूचक करिब ३ प्रतिशत घटेको छ भने वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

चिलिमे हाइड्रोपावर कम्पनी २० करोड ५६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब साढे १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने साहस उर्जाको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

रसुवागढी हाइड्रोपावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य करिब १३ प्रतिशत घटेको छ। माथिल्लो मैलुङ खोला जलविद्युत र साञ्जेन जलविद्युत कम्पनीको सेयरमूल्य ११ प्रतिशतभन्दा बढी घटेको छ।

आज सर्वोत्तम पेन्ट्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य १५८ रुपैयाँ २० पैसा बढेर एक हजार २१२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य करिब साढे १० प्रतिशत बढेको छ।