न्युयोर्क । संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार दोस्रो अनौपचारिक मतदान (स्ट्र पोल) गरेको छ। वर्तमान महासचिव एन्टोनियो गुटेरेसको दोस्रो पाँच वर्षे कार्यकाल डिसेम्बर ३१ मा सकिँदैछ।
पहिलो स्ट्र पोलमा कोस्टा रिकाकी रेबेका ग्रिन्स्पान अग्रस्थानमा रहनुभएको थियो। दोस्रो मतदानले उम्मेदवारमध्ये कसको समर्थन बढिरहेको छ भन्ने थप संकेत दिने अपेक्षा गरिएको छ।
प्रतिस्पर्धामा अर्जेन्टिनाका राफेल ग्रोसी, चिलीकी पूर्वराष्ट्रपति मिशेल ब्याचेलेट, इक्वेडरकी मारिया फर्नान्डा एस्पिनोसा, गुयानाकी क्यारोलिन रोड्रिग्स–बर्केट, युगान्डाका ओलारा ओटुन्नु र सेनेगलका म्याकी साल हुनुहुन्छ। पहिलो मतदानपछि इक्वेडरकी इभोन ए–बकीले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ।
सुरक्षा परिषद्का १५ सदस्यले उम्मेदवारबारे गोप्य रूपमा ‘प्रोत्साहित गर्ने’, ‘निरुत्साहित गर्ने’ वा ‘कुनै राय नभएको’ धारणा व्यक्त गर्छन्। परिषद्का स्थायी पाँच सदस्यमध्ये कुनै एकको भिटो नआउने गरी कम्तीमा नौ सदस्यको समर्थन आवश्यक हुन्छ।
परिषद्ले सिफारिस गरेपछि मात्र महासचिवका उम्मेदवारको नाम अनुमोदनका लागि महासभामा पठाइन्छ। क्षेत्रीय सन्तुलनको परम्पराअनुसार यसपटक ल्याटिन अमेरिकाबाट महासचिव चयन हुने अपेक्षा गरिएको छ।





