काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ। बैठक वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घण्टी घर’मा बिहान ११ बजेका लागि बोलाइएको छ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, संगठनात्मक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायतका विषयमा छलफल हुने कार्यसूची छ।

बैठकमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुने बताइएको छ।

ADVERTISEMENT

त्यस्तै, संगठनात्मक व्यवस्थापन तथा मनोनयनतर्फ केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभिन्न विभागका प्रमुखहरूको मनोनयन गर्ने विषय पनि बैठकको कार्यसूचीमा रहेको छ।

ADVERTISEMENT

स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति का सदस्य मनोनयनबारे समेत बैठकमा छलफल हुने जनाइएको छ।

ADVERTISEMENT

योजना, कार्यक्रम तथा अभियानअन्तर्गत केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोट रूपरेखासम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ।

यसैगरी पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत हुने बताइएको छ।

बैठकले पार्टीको आगामी संगठनात्मक रणनीति, स्थानीय निर्वाचनको तयारी तथा उम्मेदवार छनोट प्रक्रियालाई थप व्यवस्थित गर्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।