काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशमा मुख्यमन्त्रीको उम्मेदवारका विषयमा सहमति जुटेको छ ।
मंगलबार पार्टी केन्द्रीय सचिव महेश बस्नेत र राजन भट्टराईसहितका नेताबीच भएको छलफलले भक्तपुरका प्रदेश सांसद किरण थापालाई बागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सार्ने सहमति गरेको प्रदेश सांसद केशव पोखरेलले जानकारी दिए ।
सहमति अनुसार बागमती प्रदेशसभामा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया नै रहने भएका छन् । यसअघि थपलियाविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
सहमति बनेसँगै प्रदेश संसदीय दलको बैठक मंगलबार दिउँसो हेटौँडामा बसेको थियो । बैठकले किरण थापालाई मुख्यमन्त्रीका रूपमा औपचारिक रूपमा अघि सार्ने निर्णय गरेको बताइएको छ ।
एमालेभित्र मुख्यमन्त्रीको उम्मेदवारलाई लिएर देखिएको विवाद सहमतिसँगै टुंगिएको नेताहरूले बताएका छन् । अब थापालाई मुख्यमन्त्री बनाउन आवश्यक राजनीतिक प्रक्रिया अघि बढाइनेछ ।





