काठमाडौं । राज्यव्यवस्था सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा पत्र सभामुखलाई बुझाएका छन् ।
संघीय निजामीत विधेयक हेरफेरमा त्रुटि भएको विषयमा गठित संसदीय समितिले सभापति नैतिक जिम्मवार रहेको ठहर गरेपछि साउन २७ गते बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै खतिवडाले सभापति पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
सोही घोषणाबमोजिम खतिवडाले बुधबार लिखित राजीनामा पत्र सभामुख देवराज घिमिरेसमक्ष बुझाएका हुन् । साउन २८ गतेबाट लागू हुने गरी आफूले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएको उनले पत्रमा लेखेका छन् ।
खतिवडाले सभामुखसमक्ष राजीनामा पत्र बुझाउने बेला कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमाले मुख्य सचेतक महेश बर्तौला उपस्थित थिए । संसद् नियमावलीमा समितिका सभापतिले राजीनामा सभामुखलाई बुझाउने व्यवस्था छ । अब चाँडै नयाँ सभापति चयन हुनेछ ।













