काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।
निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएका खतिवडाले पार्टीभित्रै र बाहिरबाट चौतर्फी दबाबपछि उनले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।
उनले समितिले आफूलाई दोषी ठहर गरी नाम नलेखे पनि सभापतिको हैसियतमा रहेकाले जिम्मेवारीबोध गर्दै हाँसीहाँसी राजीनामा घोषणा गर्दछु भनेका थिए । पार्टीको निर्देशनपछि उनले राजीनामा दिएका हुन् ।
कांग्रेसका कतिपय नेताहरूले सभापति शेरबहादुर देउवालाई भेटेरै खतिवडालाई समितिले नैतिक जिम्मेवार ठहर्याएको र मुख्य जिम्मेवार मानिएका मुख्यसचिव एकनारायण अर्यालमाथि दवाब बढाउन पनि राजीनामा उत्तम विकल्प हुने सुझाएका थिए । नेताहरूको सुझावपछि देउवाले रामहरिलाई राजीनामा दिन भनेका थिए ।





