काठमाडौं । सघीय निजामती विधेयकमा उल्लेखित ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको छेडखानी छानबिन गर्न गठित विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ।

सिंहदरबारस्थित संसद् सचिवालयमा छानबिन समितिले सोधपुछ गरिरहेको समिति सदस्य माधव सापकोटाले जानकारी दिए । कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा छानबिन समिति बनेको थियो । राज्य व्यवस्था समितिबाट निर्णय भएको दुईवर्षे कुलिङ पिरियडको प्रावधानलाई निष्प्रभावी बनाउने गरी सभामा प्रस्तुत भएपछि छानबिन समिति गठन भएको हो।

ADVERTISEMENT

समितिमा लामो समयको छलफलपछि राजीनामा दिएका वा अवकाशपछि दुई वर्षसम्म कुनै निकायमा नियुक्ति हुन नमिल्ने गरी बनाएको मस्यौदामा ‘सरकारले नियुक्ति गरेको बाहेक’ भन्ने शब्दलगायत थप भएपछि सोही नै प्रतिनिधिसभाले पारित गरेको थियो । प्रतिनिधिसभाले पारित गरेपछि समितिको प्रतिवेदनमा यो कुरा कसरी घुस्यो भनी विवाद भएको थियो । सोही विषयमा छानबिनका लागि परियारको नेतृत्वमा समिति बनेको हो ।

ADVERTISEMENT

संघीय निजामती विधेयक अहिले राष्ट्रिय सभामा पेस भएको छ । विधेयकमा संशोधन हाल्न सांसदहरूलाई ७२ घन्टाको समय दिइएको छ । राष्ट्रिय सभाले विधेयकमा भएको छलछाम संशोधन गरी पास गरेर प्रतिनिधिसभामा पठाएपछि फेरि पास गर्नुपर्ने हुन्छ ।