काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२६ आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने यसपटकको प्रदर्शनी नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो।
एचपी लुब्रिकेन्ट्स शीर्ष प्रायोजक रहेको प्रदर्शनीमा नेपालमा तीव्र रूपमा विस्तार भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ उत्पादन, प्रविधि र सेवालाई एउटै छानामुनि प्रस्तुत गरिने आयोजकले जनाएको छ।
करिब तीन लाख वर्गफुट क्षेत्रमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्। त्यहाँ २३ वटा ब्रान्डका प्यासेन्जर कार, १७ वटा लाइट कमर्शियल भेहिकल तथा १३ वटा दुईपांग्रे ब्रान्डका उत्पादन प्रदर्शन गरिनेछ।
यस्तै, वित्तीय तथा बीमा सेवाका १० प्रदायक र अटोमोबाइल पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका उत्पादन तथा सेवा उपलब्ध गराउने करिब ७० वटा स्टल रहनेछन्। नेपालमै एसेम्बल हुने सवारीसाधनसँगै स्वदेशमा उत्पादन भएका ल्युब, ब्याट्री, हेल्मेट तथा अन्य सामग्रीलाई समेत प्रदर्शनीमा प्राथमिकता दिइने आयोजकले जनाएको छ।
यस वर्षको अटो शोमा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्ने कार्यक्रमसँगै स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास र कनेक्टिभिटीमा केन्द्रित सिम्पोसियम आयोजना हुनेछन्। भविष्यको यातायात प्रणालीमा प्रयोग हुन सक्ने प्रविधि तथा नवप्रवर्तनबारे आगन्तुकलाई प्रत्यक्ष जानकारी दिने व्यवस्था पनि गरिएको छ।
आयोजकका अनुसार प्रदर्शनीलाई दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणलगायतका छुट्टाछुट्टै जोनमा विभाजन गरिनेछ। यसले आगन्तुकलाई आफूले खोजेको उत्पादन तथा सेवासम्म सहज पहुँच पुर्याउने अपेक्षा गरिएको छ।
प्रदर्शनीको टिकट खल्ती एपमार्फत अग्रिम बुकिङ गर्न सकिनेछ। निश्चित अवधिमा टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
अटो शोमा सञ्चारकर्मीका लागि मिडिया डेस्क, ट्राफिक व्यवस्थापनसम्बन्धी सूचना डेस्क, क्याफेटेरिया तथा पार्किङको व्यवस्था गरिनेछ। नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको भूमिगत पार्किङ र सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा समेत पार्किङ सुविधा उपलब्ध गराउने तयारी छ।
आकस्मिक स्वास्थ्य टोली, सीसीटीभीमार्फत सुरक्षा निगरानी, आगलागी नियन्त्रणको व्यवस्था तथा ह्वीलचेयरमैत्री संरचनालाई पनि प्रदर्शनीमा समेटिएको छ।
नाडाका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य अटोमोबाइल उद्योगका उत्पादक, व्यवसायी, ग्राहक र अन्य सरोकारवालालाई एउटै प्लेटफर्ममा जोड्नु तथा नयाँ प्रविधि र उत्पादनबारे प्रत्यक्ष जानकारी दिने हो। आयोजकले ६ दिनमा करिब दुई लाख दर्शकले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरेको छ।






