काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६:३० बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्ड प्रभावित भएका छन्।
बागमती प्रदेशअन्तर्गत पृथ्वी लोकमार्गको धादिङस्थित गजुरी गाउँपालिका–२ चालिसेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग र कान्ति लोकपथमा रात्रिकालीन सवारी सञ्चालनमा समेत रोक लगाइएको छ। बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म तथा कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन रोकिएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशीस्थित कोदारी र लिपिङमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द छ। रसुवाको उत्तरगयास्थित खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड पनि साउन ८ गतेदेखि नै अवरुद्ध छ।
कोशी प्रदेशमा इलामको राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा बन्द भए पनि वैकल्पिक बाटोबाट यात्रा गर्न सकिने व्यवस्था गरिएको छ। सङ्खुवासभाको भोटखोलास्थित सिरेक डाँडामा खाँदबारी–किमाथाङ्का सडक पनि अवरुद्ध छ। भोजपुरको बोखिममा पहिरो पन्छाएपछि मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ।
गण्डकी प्रदेशमा म्याग्दीको रुप्सेमा पहिरो खस्दा बेनी–जोमसोम सडक पूर्ण रूपमा बन्द भएको छ। मुस्ताङको कैकु खोलामा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। लमजुङको रामबजारमा पहिरोका कारण बेँसीसहर–मनाङ सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। बागलुङका कालीगण्डकी करिडोर र बागलुङ–बेनी सडक पनि एकतर्फी मात्र सञ्चालनमा छन्।
लुम्बिनी प्रदेशको प्युठानस्थित रुमालेमा पहिरो खस्दा भिंगृ–स्वर्गद्वारी सडक खण्ड पूर्ण रूपमा बन्द छ। कर्णाली प्रदेशमा रुकुम पश्चिमको भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक दुई स्थानमा अवरुद्ध भएको छ। आठबीसकोटको रिजेगार्ड खोला र पिपलचौरमा सडक पूर्ण रूपमा बन्द छ। सल्यानको कपुरकोटस्थित अरिङ्गालेमा पहिरो खस्दा राप्ती राजमार्ग पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले पहल गरिरहेका छन्। तर, लगातारको वर्षाका कारण उद्धार तथा सडक सञ्चालनको काम प्रभावित भइरहेको छ। प्रहरीले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त सडकमा सावधानी अपनाउन आग्रह गरेको छ।






