काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा उल्लेख्य सुधार भएको हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १२ करोड ९७ लाख २६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो। यस आधारमा बैंकको नाफा करिब ११ गुणाले बढेको देखिन्छ।
नाफामा सुधार आए पनि बैंकको वित्तीय स्वास्थ्यमा चुनौती कायमै छ। बैंकको सञ्चित नोक्सानी ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो नोक्सानी ८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ थियो।
बैंकको निष्क्रिय कर्जा अनुपात ७.९६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यो ७.९७ प्रतिशत थियो। निष्क्रिय कर्जा उच्च रहेकाले बैंकले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि २ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ प्रोभिजन गरेको छ। यद्यपि, अघिल्लो वर्षको ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँको तुलनामा प्रोभिजन रकम घटेको छ।
बैंकको खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्ष १० अर्ब ४२ करोड ५० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आवमा ८ अर्ब ८१ करोड १ लाख रुपैयाँमा सीमित भएको छ। खुद शुल्क तथा कमिसन आम्दानी पनि घटेर १ अर्ब १६ करोड २१ लाख रुपैयाँमा झरेको छ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि सुधार भएको छ। अघिल्लो वर्ष ६० पैसा रहेको ईपीएस गत आवमा ६ रुपैयाँ ५६ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ४८ पैसा रहेको छ।
बैंकको आधार दर ६.६३ प्रतिशतबाट घटेर ५.३१ प्रतिशतमा आएको छ भने स्प्रेड दर ३.२९ प्रतिशतबाट घटेर २.८३ प्रतिशतमा सीमित भएको छ। त्यस्तै, पूँजीकोष अनुपात १०.६० प्रतिशतबाट बढेर ११.६९ प्रतिशत पुगेको छ। प्राथमिक पूँजीकोष अनुपात भने ७.६९ प्रतिशत रहेको छ।
बैंकको सीडी रेसियो ८१.३५ प्रतिशतबाट घटेर ७२.७४ प्रतिशतमा आएको छ। यसले बैंकसँग लगानीयोग्य रकम पर्याप्त रहे पनि त्यसअनुसार कर्जा विस्तार हुन नसकेको संकेत गर्छ। बैंकको कस्ट अफ फन्ड पनि ४.८४ प्रतिशतबाट घटेर ३.६३ प्रतिशतमा झरेको छ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा २२ करोड ८८ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गरेको छ। तर, बक्यौता ब्याज तथा अन्य नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा अझै ९ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक रहेको छ।
गत आर्थिक वर्षमा बैंकको निक्षेप संकलन बढेर ३ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह सामान्य बढेर २ खर्ब ३० अर्ब ६३ करोड रुपैयाँ पुगेको बैंकको वित्तीय विवरणमा उल्लेख छ।












