काठमाडौं । हिमालयन डिस्टिलरीले आर्थिक वर्ष २०८२/८३ मा उत्साहजनक वित्तीय प्रगति गरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा र व्यापार दुवैमा उल्लेख्य वृद्धि गरेको हो।
कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब २० करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको ९४ करोड १४ लाख ४६ हजार ४८७ रुपैयाँको तुलनामा करिब २८.१३ प्रतिशतले बढी हो।
कम्पनीले गत आवमा ८ अर्ब ११ करोड ३७ लाख रुपैयाँको कारोबार गरेको जनाएको छ। अन्तःशुल्क कट्टीपछिको खुद बिक्री आम्दानी ४ अर्ब ३७ करोड १८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ७० करोड ८७ लाख रुपैयाँभन्दा उल्लेख्य बढी हो। व्यापारमा भएको वृद्धिले नाफा बढाउन मुख्य योगदान गरेको कम्पनीको वित्तीय विवरणले देखाएको छ।
वित्तीय विवरणअनुसार कम्पनीको कुल नाफा ३ अर्ब ५ करोड ९३ लाख रुपैयाँ रहेको छ। कर्मचारी खर्चमा ४७ करोड ९१ लाख र प्रशासनिक खर्चमा १९ करोड ५५ लाख रुपैयाँ खर्च भए पनि कम्पनीले १ अर्ब ६७ करोड ७५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।
कम्पनीले सरकारलाई आयकरबापत ४२ करोड ६७ लाख रुपैयाँ भुक्तानी गरेको छ। नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। कम्पनीको ईपीएस ३२.७१ रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा २५.५३ रुपैयाँ थियो।
त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १४१.४३ रुपैयाँ र मूल्य–आम्दानी अनुपात ३४.८५ गुणा कायम भएको छ।कम्पनीले बजारमा बढ्दो प्रतिस्पर्धा, कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव तथा सरकारी नीतिमा हुने परिवर्तनलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ।
यद्यपि, उत्पादनको गुणस्तर कायम राख्दै नयाँ पोर्टफोलियो विस्तार गरेका कारण बजार हिस्सा जोगाउन सफल भएको कम्पनीको दाबी छ। विशेषगरी ‘गोल्डेन ओक’ र ‘ब्ल्याक ओक’ जस्ता ब्रान्डको बजारमा राम्रो माग रहेको कम्पनीले जनाएको छ।





