काठमाडौं । सत्तारुढ रास्वपामा सरकार र पार्टीबीच बेमेलका संकेत प्रस्ट रूपमा देखिन थालेको छ । अघिल्लो प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद मनिष झाले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आगो ओकलेका थिए । सोमबारको संसद् बैठकमा लिमा अधिकारीले त्यसलाई निरन्तरता दिएकी छन् ।
सांसद अधिकारीले नागरिकको भान्सा सहज बनाउन सरकारसँग माग गरिन्। बैठकको शून्य समयमा अधिकारीले ग्यासको अभावका कारण नागरिकले सास्ती भोग्नुपरेको भन्दै छिटोभन्दा छिटो नागरिकको भान्सा सहज बनाउन सरकारसँग माग गरेकी हुन्।
अधिकारीले सर्वसाधारण नागरिकहरू छाक टार्नका लागि मध्यरातिसम्म खाली ग्यास सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य भएको स्थितिप्रति सरकारको ध्यानाकर्षण गराइन्।
एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको र अर्कोतिर ग्यासका लागि नागरिकले सास्ती भोग्नुपरेको अवस्था विडम्बनापूर्ण रहेको उनको भनाइ छ । उनले ग्यासको लाइन हटाउन सरकारले तत्काल इन्डक्सन चुलो वितरण गर्ने योजना ल्याउनुपर्ने धारणा राखिन्।
साथै, अधिकारीले विद्युत खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धन वा विद्युतीय चुलोको प्रयोगलाई निरुत्साहित गरेको हुनसक्ने भएको यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरिन्। स्वदेशी भान्सा हाम्रो साझा प्रतिबद्धता हो भन्दै नागरिकलाई गरेको बाचा र प्रतिबद्धता भुल्न नहुने उनको भनाइ छ ।
सरकारले सय दिन नकटाउँदासम्म रास्वपा सांसदहरूले बचाउ गर्दै आएका थिए । विपक्षी सांसदहरूले लगाएको आरोपमा प्रतिवाद गर्न उत्रिन्थे । अहिले भने रास्वपा सांसदहरूले नै सरकारको आलोचनामा उत्रिन थालेका छन् ।
सोमबारको संसद् बैठकमा रास्वपा महामन्त्री विपिनकुमार आचार्यले संसद् बैठकका कामकारबाहीप्रति आपत्ति जनाए । उनले यस्तो ढंगले संसद् बैठक चल्न नसक्ने भन्दै संसद् बैठक सुधार सुझाव कार्यदल गठन गर्न माग गरे । संसदको नेतृत्वमा रास्वपाकै पूर्वउपसभापति डिपी अर्याल छन् ।








