काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार दिउँसो १ बजे पुनः बस्ने भएको छ। आइतबार ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा सुरु भएको बैठकमा सबै विषयमा छलफल पूरा हुन नसकेपछि सोमबारका लागि बैठक पुनः बोलाइएको हो।

आइतबार बसेको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, सरकारका गतिविधि तथा प्रदेश सरकारमा विकसित पछिल्लो राजनीतिक परिस्थितिसहित विभिन्न विषयमा छलफल सुरु भएको थियो।

सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय तथा प्रस्तावित एजेन्डाबारे धारणा राखेका थिए। महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए।

ADVERTISEMENT

बैठकमा १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक तथा वितरण, महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठनलगायत विषय छलफलका लागि अघि सारिएका छन्।

ADVERTISEMENT

त्यस्तै, प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायतका उपसमिति गठन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने विषय पनि बैठकको एजेन्डामा छन्।

पछिल्लो समय तराई–मधेशमा विकसित घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत कांग्रेस बैठकमा छलफल सुरु भएको छ। सरकारका १०० दिनपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद् बाहिर कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि छलफल हुने बताइएको छ।

प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिका निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक राजनीतिक विषय तथा भ्रातृ संस्थाहरूको विधानसम्बन्धी विषयसमेत बैठकका एजेन्डामा समेटिएका छन्।