इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर तीन लाख १५ हजार हात पारे । अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन (४० केजी) चार हजार पाँच सयका दरले बिक्री गरेका हुन् ।

पाँच रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गरेका उनले २० मन बीउ राखेर बाँकी बेचे । उनले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष २० मन बीउ रोपेका छन् ।

माङसेबुङ–२ का अर्का किसान राजकुमार राईले गत वर्ष अदुवा बेचेर दुई लाख बढी आम्दानी गरे । पचास मन अदुवा चार हजारका दरले बेचेका उनले यस वर्ष २० मन रोपेका छन् । यस वर्ष आम्दानी बढाउने उनको लक्ष्य छ ।

ADVERTISEMENT

माङसेबुङ–३ का किसान तेजु राईले यस वर्ष ६० मन अदुवा रोपेका छन् । दश रोपनीमा व्यावसायिक खेती थालेका उनले यसअघि १० मन बीउ माटोमा उपयोग गरेका थिए । जिल्लाका किसान अदुवाप्रति आकर्षित भएकाले आफू पनि व्यावसायिक खेतीतर्फ अग्रसर भएको उनी बताउँछन् । आकर्षक आम्दानीका कारण धान र अन्य खेती छाडेर किसान अदुवाखेतीमा लागेका उनको कथन छ ।

ADVERTISEMENT

उत्पादनका बेला प्रतिमन रु चार हजार पाँच सय रुपैयाँसम्म पुगेको अदुवाको भाउ अहिले माउ प्रतिमन सात हजारसम्म पुगेको छ । बच्चा र माउको मनासिव मूल्य पाएपछि किसानहरु अदुवाखेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

माउ अदुवा झापाको धुलाबारीमा अहिले प्रतिमन रु सात हजारसम्म बिक्री हुने गरेको छ भने इलाममा ६ हजारमा किनबेच भइरहेको स्थानीय व्यापारी राम जवेगूले बताए ।

यहाँका किसानले ठूलो (भैँसे), मझौला र साना गरी तीन किसिमका अदुवाखेती गर्दै आएका छन् । भदौसम्म माउ अदुवाको बिक्री हुने अदुवाको मुख्य उत्पादन कात्तिकदेखि जेठसम्म हुन्छ ।

जिल्लाको मुख्य व्यापारिक केन्द्र इलाम बजारका साथै बिब्ल्याँटे, मंगलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानबारी, हर्कटेलगायत बजारमा यहाँको अदुवा खपत हुने गरेको छ । केन्द्रका अनुसार इलाममा तीन हजार २२१ हेक्टर क्षेत्रमा व्यावसायिक अदुवाखेती हुँदै आएको छ । गत वर्ष यहाँ ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।
–––