काठमाडौँ — हर्के हल्दारको परिचय बनाएका कलाकार बिष्णु सापकोटा टेलिभिजनमा फर्किएका छन्।
उनी ‘कमेडी बाज’ कार्यक्रममार्फत कमब्याक गरेका हुन्। पछिल्लो समय कुनै पनि कार्यक्रममा नेदेखिएका सापकोटा अब कमेडी बाजमा निरन्तर देखिने भएका हुन्।
हरेक आइतबार राति ८ बजे ईमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको कमेडी बाजमा उनी पर्फमरको रुपमा देखिदै छन्। उनी आफ्नो परिचित पात्र हर्के हल्दारकै गेटअपमा प्रस्तुति दिने जनाइएको छ।
आउँदो आइतबार प्रसारण हुन लागेको कमेडी बाजको नयाँ भागबाट उनी देखिनेछन्। यो भागमा सुशिल नेपाल, प्रताप दास, सिडी बिजय अधिकारी र श्यामराना अतिथिको रुपमा कार्यक्रममा पुगेका छन्।
कमेडी बाजका निर्माता, निर्देशक तथा सन्चालक सुन्दर खनालका अनुसार अब निरन्तर हर्के हल्दारलाई देख्न पाइनेछ। ‘दर्शकले निकै मन पराएको क्यारेक्टर हो हर्के हल्दार, त्यसैले दाइलाई आग्रह गरेर कमेडी बाजमा ल्याएका हौं,’ खनालले भने।
कलाकार सापकोटा लामो समयदेखि हर्के हल्दार सिरियलमा काम गर्दै आएका थिए। तर पछिल्लो चार वर्ष सिरियलबाट बाहिरिएका थिए।





