काठमाडौं । लगानी बोर्डकी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) यांकी उक्याबले शुक्रबार कार्यभार सम्हाल्ने भएकी छिन् ।
दुई दर्जनभन्दा बढीले लगानी बोर्ड सिइओमा आवेदन दिएका थिए। त्यसमध्ये उक्याचसहित जितेन्द्र धिताल, मनोज पौडेल, मनमानसिंह बस्न्यात, मुकुन्दप्रसाद पौड्याल, सरोज कोइराला, बखतबहादुर शाही र मधुप्रसाद भेटुवाल प्रतिस्पर्धामा थिए।
अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित समितिले उक्याबसहित मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा यांकीलाई लगानी बोर्ड सिइओ नियुक्त गरिएको थियो ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयचाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेकी यांकीले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्रशान्त क्षेत्र कार्यालयकी वरिष्ठ नीति सल्लाहकार भएर काम गरिसकेकी छिन् ।
त्यस्तै, युएनडिपी नेपालको विकास अर्थशास्त्रीसमेत रहेकी उक्याबले लगानी बोर्डमा परामर्शदाताका रूपमा समेत काम गरिसकेकी छिन्। विकास अर्थशास्त्र र सार्वजनिक नीतिविज्ञका रूपमा परिचित उक्याबले आगामी चार वर्षका लागि बोर्डको नेतृत्व सम्हाल्नेछिन् ।





