काठमाडौं । लगानी बोर्डले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब रुपैयाँभन्दा बढीको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले नार खोला र सानी भेरी–३ जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ आयोजनाका लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लागत स्वीकृत गरेको छ।

ADVERTISEMENT

दुवै आयोजनाको कुल अनुमानित लागत २१ अर्ब १७ करोड ३८ लाख ५९ हजार रुपैयाँ रहेको छ।

अरुण–३ र माथिल्लो कर्णालीलाई पनि प्राथमिकता

ADVERTISEMENT

बैठकले ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने निर्णयअनुसार काम अघि बढाउने जनाएको छ।

त्यस्तै, ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौतामा उल्लेखित प्रावधानअनुसार तत्काल निर्माण अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ।

नयाँ लगानी र प्रविधिमा जोड

लगानी बोर्डले स्वीकृत आयोजनाको कार्यान्वयन र लगानीकर्तालाई सेवा प्रदान गर्ने काम प्रभावकारी बनाउन बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ।

बोर्डले आफैँले आह्वान नगरेका प्रस्तावलाई आवश्यकताअनुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराएर अघि बढाउन आवश्यक कानुनी व्यवस्था गर्न पनि निर्देशन दिएको छ।

त्यसैगरी, कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार आयोजनाका लगानी प्रस्तावलाई प्राथमिकता दिने निर्णय भएको छ। यस्ता आयोजनाले नेपालको नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना र आर्थिक विकासमा पुर्‍याउने योगदानलाई प्राथमिकतामा राखिने बोर्डले जनाएको छ।