काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा.खड्गबहादुर केसी र लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा यांकी उक्याबलाई नियुक्त गरेको छ ।

उक्याव अर्थशास्त्री हुन् । लगानी बोर्डको पहिलो महिला सिइओ बनेर उनले इतिहास रचेकी छन् । सरकारले खुला प्रतिस्पर्धाका आधारमा बाेर्डकाे सिइओ नियुक्त गरेकाे हाे ।

केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष हुन् ।उपकुलपति केशरजंग बरालले राजीनामा दिएपछि उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए । आयोगको सचिव पदमा भोजपुरका प्राध्यापक डा. रोजेश श्रेष्ठलाई नियुक्त गरिएको छ।

ADVERTISEMENT

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावअनुसार तथ्यांक (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ।

ADVERTISEMENT

मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गर्ने निर्णय भएको छ। साथै, नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा टेकेर पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय भएको छ। महिला मन्त्रालयको प्रस्तावमा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गरिएको छ।

यसैगरी मन्त्रिपरिषद् बैठकले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ।