काठमाडौं । नेपाल शिक्षक महासंघ फेरि आन्दोलित हुने भएको छ । महासंघले आफूसँग भएका विगतका सहमति कार्यान्वयन सरकारले नगरेकोलगायतका माग राखी भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ ।
महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको हो । महासंघले भदौबाट आन्दोलन गर्ने निर्णय भएको र आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले तय गर्ने बताएको छ ।
महासंघले शिक्षा ऐनको माग, नियमावलीको १०औँ संशोधनमा आएका विषयमा महासंघले फरक मत राख्दै शिक्षा ऐन जारी हुनुपर्ने र दसौँ संशोधनमा भएका प्रावधान राम्रो नभएको बताएको छ ।
साथै, शिक्षक सरुवा, विद्यालय कर्मचारी, ईसीडी शिक्षक, अस्थायी प्रकृतिका शिक्षकको व्यवस्थापन हुनुपर्ने महासंघले माग राख्दै आएको छ ।
यसअघि पनि आफ्ना माग राख्दै पटकपटक आन्दोलन गरेका शिक्षकहरूको विभिन्न सरकारहरूसँग सहमति भए पनि अहिलेसम्म सम्बोधन भने हुन सकेको छैन । गत वर्ष शिक्षकहरूले एक महिनासम्म सडक आन्दोलन गरेका थिए । तर आन्दोलन निष्कर्षमा पुग्न नपाउँदै सहमति गरेर शिक्षकहरू विद्यालय फर्किएका थिए ।







