काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंक बढेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्से आज भने बढेको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९६ अंक बढेर २६८५.५४ विन्दुमा पुगेको छ। १३ मध्ये ११ उपसमूहको परिसूचक बढेको छ । निर्जीवन बीमा र व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक सामान्य बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। बिहीबार तीन अर्ब ३८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३३७ स्टकको ४६ हजार ७५२ पटकको कारोबारमा तीन अर्ब ७५ करोड ९७ लाख २२ हजार रुपैयाँबराबरको ८८ लाख ५१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
शुक्रबार रिडी पावर कम्पनीको १७ करोड २६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। ग्लोबल आइएमई बैंकको १५ करोड रुपैयाँ र सेन्ट्रल फाइनान्सको करिब १५ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
आज पनि एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य १७० रुपैयाँ ७० पैसा बढेर एक हजार ३०९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। लक्ष्मी भ्यालु फण्ड २ को इकाइमूल्य ८ प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।






