काठमाडौं । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा शुक्रबार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ ।

ADVERTISEMENT

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी–ढलही, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका सीमा) सम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।

जारी आदेशमा कर्फ्युको उल्लंघन हुने कुनै पनि गतिविधि गरे, गराए वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

ADVERTISEMENT

बोदेबरसाइन नगरपालिकामा बिहीबार राति १० बजेदेखि नै अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ । कर्फ्यु आदेशको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेनाले गस्ती गरिरहेको छ ।

सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि त्यसको प्रभाव मधेश प्रदेशका अन्य जिल्लामा समेत देखिन थालेको छ । सोही घटनाको विरोधमा बिहीबार सप्तरीमा प्रदर्शन भएको थियो ।