काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले केही दिनदेखि पूर्व नेपाल र मधेश प्रदेशका केही जिल्लामा भड्केको हिंसाले जनजीवन अशान्त बनेको भन्दै आफू दुःखी भएको बताएका छन् ।
पूर्वराजाको संवाद सचिवालयले बिहीबार दिउँसो सार्वजनिक गरेको विज्ञप्तिमा समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना, दुर्घटना घट्नु चिन्ताको विषय भएको उल्लेख छ ।
‘केही दिनअगाडि सुनसरी जिल्लाको केही गाउँबस्तीमा भडकिएको आपसी द्वन्द्व र विवादबाट जनधनको क्षति भएको र यसको असर फैलिँदै गएर कोशी क्षेत्र र तराईका विभिन्न भू(भागको जनजीवन अशान्त बनेको सुन्दा हामीलाई अत्यन्त दुःख लागेको छ। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना, दुर्घटना घट्नु चिन्ताको विषय हो,’ उनले भनेका छन्, ‘यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो। त्यसैले जुनसुकै भू(भागमा रहेबसेका जोकोही पनि हामी नेपाली मिलौँ। हाम्रो यही आग्रह छ। यही आजको आवश्यकता हो।’
नेपालको गौरव र पहिचान नै बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधतामा रहेको उल्लेख गर्दै उनले यस विशिष्ट गुणलाई गुम्न दिन नहुनेमा जोड दिएका छन् । ‘हामी नेपालीहरू नेपाल निर्माणको सुरुवाती समयदेखि नै परस्पर मिलिजुली, हाँसीखुसी एक अर्कामा मायाप्रिती गाँसी बसेका जातजाति हौं’, सन्देशमा अगाडि भनिएको छ, कोही कसैबाट यसमा खलल पार्ने काम हुनु हुँदैन ।’






