काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह ले प्रजातन्त्र दिवसका अवसरमा प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। भिडियो सन्देशमार्फत उनले लोकतान्त्रिक आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूको योगदानको उच्च मूल्याङ्कन गरेका छन्।
उनले देशले विभिन्न कालखण्डमा आन्दोलन र सङ्घर्षमार्फत राजनीतिक परिवर्तन हासिल गरेको उल्लेख गरेका छन्। ती आन्दोलनहरूले ल्याएका उपलब्धिहरूको गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। विगतमा भएका आन्दोलन र सङ्घर्षले देश र जनतालाई वास्तवमा के दियो भन्ने विषयमा आत्मसमीक्षा गर्ने बेला आएको उनले भनेका छन्।
पूर्वराजा शाहले गरिबी र अस्थिरतालाई नेपालको मुख्य शत्रुका रूपमा औँल्याएका छन्। राजनीतिक परिवर्तन भए पनि आम नागरिकको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको संकेत गर्दै उनले आर्थिक समृद्धि, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने बताएका छन्। राष्ट्रको ऊर्जा आपसी विवादभन्दा विकास र स्थायित्वमा केन्द्रित हुनुपर्ने उनले बताएका छन्।
उनले अधिकार मात्र खोज्ने तर कर्तव्यलाई बेवास्ता गर्ने प्रवृत्ति मौलाउँदै गएको बताएका छन्। लोकतान्त्रिक अभ्यासमा नागरिक जिम्मेवारी उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै उनले अधिकार र कर्तव्यबीच सन्तुलन कायम गर्नुपर्ने बताएका छन्। “अधिकारका साथै कर्तव्यबोध पनि सशक्त हुनुपर्छ,” उनले भनेका छन्।
पूर्वराजा शाहले नेपाली समाजमा बढ्दो विभाजनप्रति चिन्ता व्यक्त गरेका छन्। एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन्। राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी विश्वास पुनःस्थापित गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्।
देशलाई दीर्घकालीन शान्ति र स्थायित्वतर्फ अघि बढाउन सबै राजनीतिक शक्ति, सामाजिक अगुवा र नागरिकबीच सहकार्य आवश्यक रहेको उनले बताएका छन्। साझा राष्ट्रिय लक्ष्य निर्धारण गरी त्यसतर्फ एकताबद्ध रूपमा अघि बढ्नुपर्ने उनले उल्लेख गरेका छन्।
प्रजातन्त्र दिवसको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्। सहिदहरूको बलिदानको सम्मान गर्दै राष्ट्रहितलाई सर्वोपरि राखेर समृद्ध, स्थिर र एकताबद्ध नेपाल निर्माणमा लाग्न सबैलाई उनले आह्वान गरेका छन्।








