काठमाडौँ : कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपीआईएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ ।

यस एपमार्फत देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाटै हेर्न सकिनेछ।

ADVERTISEMENT

सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत रहेको ‘कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्‍याउने’ कार्यक्रम कार्यान्वयनका लागि ‘एएमपीआईएस नेपाल’ एप ल्याइएको हो।

ADVERTISEMENT

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने, बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधिमार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने सरकारको लक्ष्यअनुसार एप सञ्चालनमा ल्याएको बताएकी छिन्।

यसअघि कृषि विभागको वेबसाइटमार्फत उपलब्ध हुँदै आएको कृषि बजार मूल्य सूचना प्रणालीलाई थप स्तरोन्नति गर्दै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँग समन्वय गरिएको छ।

कालिमाटीसहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (पूर्व), रूपन्देही, बाँके, सुर्खेत र कैलाली गरी १२ वटा संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलका लागि उपलब्ध ‘एएमपीआईएस नेपाल’ एप बाट पनि सार्वजनिक गरिने जनाइएको छ।

एन्ड्रोइड मोबाइल फोनमा यो एप प्रयोग गर्न सकिन्छ। कृषि विभागको वेबसाइटमा राखिएको द्रुत प्रतिक्रिया संकेत (क्यूआर कोड) स्क्यान गरेर एप डाउनलोड गर्न सकिने बताइएको छ।

यो एपमार्फत कृषक तथा सरोकारवालाले कृषि उपजको न्यूनतम, अधिकतम र औसत थोक मूल्य, बजारअनुसार मूल्य तुलना, मूल्यको प्रवृत्ति तथा कृषि मौसमी सल्लाह बुलेटिनसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

कृषि क्षेत्रमा डिजिटल सेवाको विस्तारले कृषकको सूचना पहुँच बढाउने र कृषि बजारलाई अझ प्रभावकारी बनाउने मन्त्री चौधरीको विश्वास छ।