काठमाडौँ, १२ साउन : आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले सिन्धुलीमा ‘रक्तसेवा डटकम’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको छ। गैरसरकारी संस्था न्यू स्टेप परियोजनाको आर्थिक सहयोगमा विकास गरिएको उक्त प्रणालीमार्फत आवश्यक परेको समयमा रक्तदाता र रक्तसेवासँग सहज रूपमा सम्पर्क गर्न सकिने जनाइएको छ।
सिन्धुली बहुमुखी क्याम्पस तथा सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटका विद्यार्थीको प्राविधिक सहयोगमा सञ्चालनमा आएको यस प्रणालीको विकासदेखि व्यवस्थापनसम्मका अधिकांश काम विद्यार्थीले नै गरेका हुन्। प्रणालीको अवधारणा निर्माण, डिजाइन, कोडिङ, तथ्याङ्क व्यवस्थापन तथा परीक्षणका चरण विद्यार्थीले पूरा गरेका थिए। हाल यसको सञ्चालन, अनुगमन र नियमित अद्यावधिकको जिम्मेवारी पनि विद्यार्थी नेतृत्वमै रहेको छ।
रक्तसेवा प्रणालीलाई प्रविधिमैत्री बनाउँदै थप छिटो, भरपर्दो र प्रभावकारी सेवा दिने उद्देश्यले क्यूआर कोडसहित सार्वजनिक गरिएको हो। सेवाग्राहीले क्यूआर कोड स्क्यान गरेर आवश्यक जानकारी प्राप्त गर्नुका साथै आपत्कालीन अवस्थामा आवश्यक रक्तदाता खोज्न सहज हुने विश्वास गरिएको छ।
अस्पताल विकास समितिका अध्यक्ष शतिसचन्द्र ढकालले प्रविधिको प्रयोगले जिल्लाको रक्तसेवा व्यवस्थापन थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो। न्यू स्टेप परियोजनाका कार्यक्रम प्रमुख प्रशान्त ढकालले आधुनिक प्रविधिसँग जोडेर रक्तसेवा प्रणाली विकास गरिएको जानकारी दिँदै आगामी दिनमा यसलाई थप परिमार्जन गरी स्वास्थ्य संस्था, रक्तदाता समूह र सरोकारवाला निकायसँग सहकार्य विस्तार गरिने बताउनुभयो।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालले रक्तसेवा प्रणालीले रगत आवश्यक पर्ने नागरिकलाई महत्वपूर्ण सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो।






