काठमाडौं । नेपाली कांग्रेसले ‘एनसी फर एनसी (नेपाली कांग्रेस फर नेसनल कज)’ अभियान घोषणा गरेको छ। ४४औँ बीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सभापति गगन थापाले अभियानको औपचारिक घोषणा गरेका हुन्।
सभापति थापाले यो अभियान पार्टीको आन्तरिक गतिविधिमा मात्र सीमित नभई नागरिकको कल्याण र बृहत्तर राष्ट्रिय हितमा केन्द्रित रहने बताए। उनका अनुसार साउन ७ गतेदेखि भदौ २४ गतेसम्म अभियानको सांगठनिक तयारी गरिनेछ।
भदौ २४ गते बीपी जयन्तीका अवसरमा भव्य समारोह आयोजना गरी नेपाली कांग्रेसका प्रत्येक सदस्य तथा सबै तहका कमिटीहरूले नागरिक हित र राष्ट्रिय उद्देश्यका लागि विशेष प्रतिज्ञा गर्ने कार्यक्रम तय गरिएको उनले जानकारी दिए।
‘यो अभियान नेपाली कांग्रेसका लागि मात्र होइन, राष्ट्रिय उद्देश्यका लागि हो। हामी नागरिकहरूको कल्याण र राष्ट्रिय हितका लागि यो अभियान अघि बढाउँछौँ,’ थापाले भने।
उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै भदौ २४ को विशेष समारोहलाई अभियानको मुख्य प्रस्थानबिन्दु बनाइने बताए।





