काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी स्मृति दिवसका नाममा बुधबार आयोजना गरेको कार्यक्रमलाई ‘गगन थापा निन्दा प्रतियोगिता’ भनेर व्यंग्य गरेका छन् ।
बिहीबार राष्ट्रिय सभामा आयोजित ‘नवीन अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै थापाले नेताहरूप्रतिको सम्मान घट्ने भन्ने ठानेर आफूले कार्यक्रम हेर्न नपाएको बताए । ‘त्यहाँ मैलै असाध्यै माया गर्ने र श्रद्धा गर्ने नेताहरु पनि भएकाले मैले धेरै ध्यान दिइनँ । त्यतातिर धेरै ध्यान दिएँ भने सम्मान घट्न सक्छ, त्यसैले ध्यान दिइँन,’ थापाले भने ।
सभापति थापाले पार्टी संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई सदन सुचारु हुनेवित्तिकै पासपोर्ट छपाइ काण्डबारे मुद्दा उठाउन सुझाव दिए । उनले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कालो चश्मा वा कालो वस्त्र लगाए पनि कालो कर्तुत गरेमा कांग्रेसले प्रश्न उठाउन नछाड्ने बताए ।
प्रधानमन्त्रीको पछिल्लो कार्यशैलीप्रति टिप्पणी गर्दै थापाले भने, ‘प्रधानमन्त्रीलाई कालो चस्मा लगाउन, कालो वस्त्र लगाउन छुट छ तर, काला कर्तुत गर्न छुट छैन । यो विषय हामीले संसद्मा पनि उठाइरहेका छौँ ।’
थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो स्वतन्त्र संवैधानिक निकायलाई सरकारले आफ्नो सचिवालयको छाया बनाउन खोजेको भन्दै प्रश्न गरे ।
‘के प्रधानमन्त्रीले अख्तियारलाई आफ्नो सचिवालयको छाया बनाउन खोज्नुभएको हो ? यसको उत्तर सरकारले दिनुपर्छ’ थापाले भने, ‘अख्तियार संविधानप्रति उत्तरदायी हुने हो, सरकारको दबाबमा चल्ने होइन ।’
सञ्चार माध्यममा आएका प्रधानमन्त्रीले अख्तियारका कर्मचारीलाई धम्क्याएको भन्ने समाचारहरूबारे टिप्पणी गर्दै थापाले चुनौती दिए । ‘यदि सञ्चार माध्यममा आएका ती कुरा सत्य होइनन् भने सम्बन्धित मिडियालाई कारबाही गर्नुस्, होइन भने हामीलाई यसको चित्तबुझ्दो जवाफ चाहिन्छ । नेपालको सरकारले संविधान मान्छ कि मान्दैन, हाम्रो मुख्य प्रश्न यही हो,’ थापाले भने ।








