काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले ४४औं बिपी स्मृति दिवस अलग्गै ढंगले मनाएको छ । बुधबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित स्मृति दिवस कार्यक्रममा डा.शेखर कोइराला पनि उपस्थित छन् ।
यसअघि देउवा समूहले आयोजना गरेको कार्यक्रममा शेखर सहभागी हुने गरेका थिएनन् । तर आजको कार्यक्रममा शेखर पक्षको पनि बाक्लो सहभागिता देखिएको छ । कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशशरण महत, एनपी साउदलगायतका नेताहरू उपस्थित छन् ।
कार्यक्रममा कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत नेताहरु सहभागी छैनन्। बुधबार बिहान संस्थापन पक्षले आयोजना गरेको ग्रिन रन कार्यक्रममा इतर पक्षका नेता सहभागी थिएनन्। कांग्रेसको संस्थापन र इतर समूहले छुट्टाछुट्टै रुपमा बीपी स्मृति मनाइरहेका छन्।
कमलादीमा आयोजित बिपी स्मृति दिवस कार्यक्रममा इतर पक्षका नेताहरुले संस्थापन पक्ष गगन र विश्वको आलोचना गरिरहेका छन् । कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पार्टी कार्यालय सानेपा कब्जा गर्नुपर्ने बताए ।







