काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा धेरै तराईका जिल्लाका नागरिक रहेको तथ्यांकले देखाएको छ।

वैदेशिक रोजगार विभागका अनुसार शीर्ष १५ जिल्लामध्ये अधिकांश तराईका रहेका छन् भने धनुषा सबैभन्दा अगाडि छ। विभागका अनुसार गत आर्थिक वर्ष १५१ देशमा रोजगारीका लागि कुल ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका थिए।

ADVERTISEMENT

तीमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्। जिल्लागत रूपमा धनुषाबाट सबैभन्दा धेरै ३८ हजार ५५३ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि झापा (३५ हजार १२१), मोरङ (३१ हजार ९९०), सिरहा (३० हजार २११), महोत्तरी (२८ हजार २२९), रूपन्देही (२५ हजार ३९१), सुनसरी (२४ हजार ३६५), सर्लाही (२३ हजार २७३) र सप्तरी (२० हजार ५५९) रहेका छन्।

ADVERTISEMENT

यस्तै, चितवनबाट १९ हजार ८०३, दाङबाट १९ हजार ९६, तनहुँबाट १६ हजार ३६५, कपिलवस्तुबाट १६ हजार ३३४, बाराबाट १५ हजार ५५५ र स्याङ्जाबाट १५ हजार २२५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका विभागको तथ्यांकमा उल्लेख छ।

यता, सबैभन्दा कम श्रम स्वीकृति लिने जिल्ला भने हिमाली क्षेत्रका रहेका छन्। मनाङबाट २१७, मुस्ताङबाट २४४, डोल्पाबाट ६१४, हुम्लाबाट ६४३, मुगुबाट ८८६ र कालिकोटबाट १ हजार २४ जनाले मात्रै गत आर्थिक वर्ष वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

ADVERTISEMENT