काठमाडौं । सांसदहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ । सरकारले सांसदहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय गरे पनि संघीय संसद् सचिवालयले सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।
सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण बुझाउन स्मरण गराएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा बमोजिम, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनार्थ संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२–८३ समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको हो ।
संसद् सचिवालयका उपसचिव अधिराज राईले सांसदहरूले आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरणलाई खामबन्दी गरी सांसद सुविधा व्यवस्थापन शाखामा दर्ता गर्न अनुरोध गरिएको जानकारी दिए ।
यसपटक प्रतिनिधिसभामा ७५ प्रतिशतभन्दा बढी नयाँ अनुहार निर्वाचित भएर आएका छन् । त्यसमध्ये मन्त्री बनेका १६ जनाको सम्पत्ति अकूत देखिएको छ । त्यसैले अब सबैले आफ्नो एकएक सम्पत्ति संसद् सचिवालयलाई बुझाउनुपर्ने भएको छ । सम्पत्तिको स्रोत वा निस्सा पनि देखाउनुपर्ने भएकाले अधिकांश सांसदहरू संकटमा परेका छन् ।












