काठमाडौं । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनकै कारण बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बुधबार सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी गराएको हो ।

बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको थियो । संसद् सचिवालयले विशेष कारणवश बैठक बस्न नसक्ने जनाए पनि रास्वपाको महाधिवेशन लम्बिएका कारण बैठक स्थगित भएको हो ।

ADVERTISEMENT

महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं फर्किए पनि अन्य मन्त्री र अधिकांश सांसदहरू अझै चितवनमै छन् । महाधिवेशनमा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, परराष्ट्रमन्त्री शिशिर खनाल, कानुनमन्त्री सोबिता गौतम र सामान्य प्रशासन तथा भूमिसुधारमन्त्री प्रतिभा रावललगायतका मन्त्रीहरू सहभागी छन् ।

ADVERTISEMENT

चितवनमा गत आइतबारदेखि जारी महाधिवेशनले प्रतिनिधिहरूको विवाद नै टुङ्ग्याउन सकेको छैन। ९९ केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता भइसके पनि महाधिवेशन प्रतिनिधिहरूको विवाद कायमै रहेको हो ।

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली भर्खरै सार्वजनिक भएको छ । केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी कायम भएको छ ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले महाधिवेशन प्रतिनिधिको सूची तयार पार्ने क्रममा अझै केही नाम छुटेको गुनासो आएको जानकारी दिएका छन् ।

‘महाधिवेशन प्रतिनिधिहरूको सूची तयार हुँदा अझै केही नाम छुटेको गुनासो आएकाले समाधानको प्रयास भइरहेको छ । आफ्नो प्रदेशमा कुनै समस्या भए प्रदेश सभापति वा प्रदेश महामन्त्रीमार्फत सहजीकरणका लागि लिखित विवरण अपराह्न ३ः३० बजेभित्र उपलब्ध गराउन अनुरोध छ,’ उनले फेसबुकमा लेखेका छन् ।