काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्सेले आज सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंक बढेर २५९०.२९ विन्दुमा पुगेको छ। १३ मध्ये ११ उपसमूहको परिसूचक बढेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत बढेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक१ प्रतिशतभन्दा बढी बढेको छ।
नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा आधा घटेको छ। मंगलबार आठ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३६२ स्टकको ३८ हजार ८३६ पटकको कारोबारमा चार अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको ८४ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। ऋणपत्रको कारोबार घटेसँगै कारोबार रकम घट्न पुगेको हो।
आज १० प्रतिशत हिमालयन बैंक डिबेञ्चर २०८३ को ४४ करोड १० लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। ३३ अर्ब रुपैयाँभन्दा बढीको ७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८ किनबेच भएको छ भने करिब २२ करोड रुपैयाँको १०.२५ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८३–८४ कारोबार भएको छ।
एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९–९० को मूल्य ९.२० प्रतिशत बढेको छ। नारायणी डेभलपमन्ट बैंकको सेयरमूल्य करिब साढे ८ प्रतिशत र थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ।





