काठमाडौं– नेपाल आयल निगमले बुधबारदेखि देशभर पुनः १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने निर्णय गरेको छ।
यसअघि निगमले २०७१ फागुन २९ देखि ७.१ केजी (आधा) सिलिन्डर मात्रै बिक्री गर्दै आएको थियो। अब भने साविककै १४.२ केजी ग्यास सिलिन्डर भरिने र २ हजार ६० रुपैयाँमा बिक्री–वितरण गरिने निगमले जनाएको छ।
निगमले जारी गरेको सूचनाअनुसार ७.१ केजीका सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नभएसम्म भने आधा र पूरा दुवै प्रकारका सिलिन्डर बजारमा उपलब्ध हुनेछन्।
यस निर्णयसँगै उपभोक्ताले आवश्यकता अनुसार ७.१ केजी वा १४.२ केजीमध्ये जुनसुकै क्षमताको ग्यास सिलिन्डर खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ।





