झापाको दमक नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। शनिबार बसेको नगर कार्यपालिकाको आपत्कालीन बैठकले बाढीपीडितका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख रामकुमार थापाले जानकारी दिनुभयो। उहाँका अनुसार राहत रकमका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकले योगदान गर्नेछन्।
नगरपालिकाले स्थानीय दैवीप्रकोप कोषमार्फत सहयोग रकम उपलब्ध गराउने जनाएको छ। झापामा हालसम्म बाढीपीडितका लागि सबैभन्दा बढी आर्थिक सहयोग घोषणा गर्ने स्थानीय तह दमक नगरपालिका बनेको नगरप्रमुख थापाले बताउनुभयो।
बैठकले राहत सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा आवश्यकताअनुसार स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीको टोलीसमेत तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। दमक अस्पतालको समन्वयमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली तयार राखिने नगरप्रमुख थापाले जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार आवश्यक परे तत्काल टोली परिचालन गर्ने तयारी नगरपालिकाले गरेको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि देशभरबाट राहत तथा उद्धारका लागि सहयोग जुटिरहेको छ। स्थानीय तह, विभिन्न संघसंस्था तथा नागरिकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोग गर्ने क्रम बढेको छ।








